कांग्रेसद्वारा संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापत्र पत्र

admin

काठमाडौं, ६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापत्र पत्र बुझाएको छ । बिहीबार सिंहदरबारमा कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री ओलीलाई महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न ध्यानाकर्षण गराउँदै १५ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा सरकारको नेतृत्वपंक्तिको अगुवाईमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरुले संक्रमण द्रुत गतिमा बढ्न मद्दत गरेको उल्लेख छ । हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आम जनतालाई खोपको सुनिश्चितता गर्न कांग्रेसले माग गरेको छ ।

त्यस्तै स्वास्थ्य सामाग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिशनतन्त्रको सम्बन्धित निकायहरुबाट स्वतन्त्र रुपमा छानविन गर्ने वातावरण सुनिश्चित गर्न पनि कांग्रेसले माग गरेको छ । हाल देखिएको अक्सिजनको चरम अभावलाई हटाउन अक्सिजन कन्सेनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था मिलाउन माग गरिएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

देशका हरेक जिल्लाहरुमा आवश्यकता अनुसार अस्पताल बेड, अक्सिजन, आइसियु र भेन्टिलेटर सहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न माग गरिएको उनले बताए । उनले अक्सिजन लगायत अन्य आवश्यक औषधीहरुको आपूर्तिमा देखिएको कार्टेलिङ, कालाबजारी र जम्माखोरीलाई तत्काल रोक्नुपर्ने माग गरिएको जानकारी दिए ।

कांग्रेसले स्थानीय निकायहरुलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितहरुको आइसोलेसन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पुर्‍याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्ने माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र संक्रमितको उपचारका लागि सरकार गम्भीर रहेको बताएका थिए । कांग्रेस सहमहामन्त्री महतले कोरोना रोकथाम नियन्त्रण र संक्रमितको उपचारका लागि निरन्तर ध्यानाकर्षण गराउने जानकारी दिए ।

प्रतिक्रिया