दाहालको नेतृत्वमा कोरोनाविरुद्ध लड्ने टिम बनाउने, सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

admin

काठमाडौं, ६ जेठ : नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कोरोना भाइरस (कोभिड १९)विरुद्ध लड्ने टिम बनाउने र तीन लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ । बिहीबार पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।

यस्तै माओवादी केन्द्रले पाँच दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यसबारेमा सम्पूर्ण जानकारी (भोलि) शुक्रबार पत्रकार सम्मेलन गरी दिइने पनि नेता पुनले बताए । शुक्रबार नै माओवादी केन्द्रले कोरोना रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष दाहाल लगायतका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने पनि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

बैठकले अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको सप्लाई, सरकारी तथा निजी अस्पतालको क्षमता वृद्धि, कोभिड सङ्क्रमितलाई आवश्यक बेडको वृद्धि र आइसोलेशन, आईसीयू, भेन्टिलेटर लगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ । कोरोनाविरुद्ध अग्रपङ्क्ति (फ्रन्टलाइन) मा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा फ्रन्टलाइनरका परिवारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिएको छ ।

सीसीएमसी खारेज गर्न माग
माओवादी केन्द्रले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न पनि माग गरेको छ । उक्त बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो । विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेता पुनले बताए ।

उनले भने, ‘सीसीएमसी खारेज गर्नुपर्छ । विपद्सम्बन्धी घटना हेर्न गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ । त्यसलाई पनि काम गर्न दिइएको छैन । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गत यस प्रकारका जोखिमको बारेमा काम गर्ने निकाय छ । त्यसलाई पनि काम गर्न दिइएको छैन । प्रधानमन्त्रीको नेतृत्वमा यस प्रकारका विपद् हेर्ने अलग्गै निकाय छ, त्यसले पनि काम गरेको छैन । छुट्टै सीसीएमसी भनेर खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत अनियमितता, भ्रष्टाचार, सामग्री दुरुपयोगका कुरा आउने भइरहेको छ । त्यसले सही ढङ्गले काम गरिरहेको छैन, त्यो खारेज गरिनुपर्छ र कानुनले चिनेको निकायले काम गर्नुपर्छ ।’

माओवादी केन्द्रले सरकार एक्लैले कोरोना रोकथाम तथा नियन्त्रण सम्भव नहुने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाजसमेतको संलग्नतामा सर्वदलीय र सर्वपक्षीय समिति बनाउनुपर्ने पनि बताएको छ । नेता पुनले भने ‘प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय समिति बनाएर त्यसले सबै जनशक्ति, राजनीतिक दल, वैज्ञानिक समुदाय, विज्ञ समुदाय, नागरिक समाजलगायतका सम्पूर्ण क्षेत्रलाई यसमा परिचालन गर्नुपर्छ । त्यसो गर्न सकिएन भने सरकारकै प्रयत्‍नले यो सम्भव छैन ।’

प्रतिक्रिया