‘रामबहादुर थापाविरुद्ध मतदान गर्नु गम्भीर, भर्त्सना गर्छौँ’

admin

काठमाडौं, ६ जेठ : नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको उपचुनावमा पार्टीको निर्देशन अवज्ञा गर्ने र पार्टी उम्मेदवार रामबहादुर थापा बादलको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापलाई अत्यन्तै गम्भीर रूपमा लिएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी निर्देशन अवज्ञा गर्ने प्रवृत्तिको भर्त्सना गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने एमालेका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकाले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत छलफल भएको ज्ञवालीले बताए ।

यसैबीच मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहेको प्रतिक्रिया दिएका छन् । स्थायी कमिटी बैठकपछि मन्त्री ज्ञवालीले अदालतको निर्णयप्रति कतिपय तर्क र फरक राय हुन सक्ने भए पनि फैसला कार्यन्वयन गर्नु आफूहरूको कर्तव्य रहेको बताए ।

प्रतिक्रिया