प्रधानमन्त्री ओली भेट्न महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

admin

काठमाडाैं, ६ जेष्ठ : प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ९ गते संसदको अधिवेशन बोलाएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेसँगै प्रधानमन्त्री ओलीको सक्रियता पनि बढेको छ। प्रधानमन्त्री ओलाीलाई भेट्न जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले अब विश्वासको मत नलिने पक्षमा आफू पुगेको कुरा मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए ।

संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठनसम्बन्धी व्यवस्था छ । धारा ७६ को उपधारा ५ मा लेखिएको छ-“(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।”

प्रधानमन्त्री ओलीले जसपाको ठाकुर महतो पक्षको साथ खोजेका छन् । र, ठाकुर र महतो पनि प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि निरन्तर सम्वादमा छन् । संविधानको धारा ७६ को ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, यसअघि पनि उनले विश्वासको मत नपाएकोले अब उक्त प्रक्रियामा नगईकन संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय लिएका हुन् ।

नयाँ सरका गठनको लागि अहिले जसपा निर्णायक शक्ति बनेको छ । जसपाले जसलाई साथ दिन्छ उसकै नेतृत्वमा सरकार बन्ने निश्चित् छ । प्रधानमन्त्री ओलीले भने जसपाले आफूलाई साथ नदिएपनि कांग्रेस, माओवादी केन्द्रको विपक्षी गठबन्धनलाई भने नसघाओस भन्ने चाहेका छन् । र, ठाकु र महतोसँग वार्तामा निरन्तर संलग्न छन् ।

प्रतिक्रिया