राष्ट्रपति पनि लोकतन्त्र र संविधानविरुद्ध गएको प्रमाणित भयो, यो क्षम्य छैन : प्रचण्ड

admin

काठमाडौं, ७ जेठ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी पनि लोकतन्त्र र संविधानविरुद्ध गएको प्रमाणित भएको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानका विरुद्ध अपराध गरेको भन्दै प्रचण्डले यो क्षम्य नहुने बताए ।

राष्ट्रपतिले विहीबार साँझ २३ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यो ठूलो षड्यन्त्र हो । संविधान र लोकतन्त्रमाथिको अर्को घात हो ।’

प्रचण्डले राष्ट्रपतिमाथि आक्रोश पोख्दै भने, ‘मैले अहिलेसम्म प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधानका विरुद्ध घात गरेका छन् मात्रै भन्ने गरेको थिएँ, भोलि ५ बजेसम्म भनेर जुन नाटक गरिएको छ, यसबाट राष्ट्रपति पनि लोकतन्त्र र संविधानका विरुद्ध गएको कुरा प्रमाणित भएको छ ।… देशलाई नै दुर्घटनामा लैजाने जो काम भएको छ, यो क्षम्य छैन ।’

राष्ट्रपतिले गरेको नयाँ सरकार गठनको आव्हानबारे प्रचण्डको प्रतिक्रिया जस्ताको त्यस्तै–
घटनाक्रम नाटकीय ढंगले देखिएको छ । खासगरी प्रधानमन्त्रीले र राष्ट्रपतिले जसरी काम गर्नुभएको छ, यो संविधानविरोधी छ, लोकतन्त्र विरोधी छ र हाम्रा स्थापित मूल्य मान्यता, परम्परा र नजीरहरुका पनि विरुद्धमा छ । पहिलो कुरा त यो ठूलो षड्यन्त्र हो । संविधान र लोकतन्त्रमाथिको अर्को घात हो भन्ने मलाई लागेको छ ।

दोस्रो कुरा, संविधानले बडो प्रष्टसँग विश्वासको मत ३० दिनभित्र लिनुपर्ने व्यवस्था गरेको छ, त्यो संसदमा गएर लिनुपर्ने हुन्छ । यो स्पष्ट संवैधानिक व्यवस्था हुँदाहुँदै प्रक्रियालाई कुल्चेर, मिचेर जे गर्न खोजिएको छ, यो त्यही पुरानै, संसद विघटन गर्नेबेलामा प्रधानमन्त्री ओलीको जो नियत थियो र राष्ट्रपतिबाट तुरुन्तै त्यसलाई सदर गरेर जुन मनसाय प्रकट गरिएको थियो, त्यसैको यो निरन्तरता हो भन्ने मलाई लाग्छ ।

यो जे काम भइराखेको छ, यो काम हेर्दा मैले अहिलेसम्म प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधानका विरुद्ध घात गरेका छन्, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी ढंगले चलेका छन् मात्रै भन्ने गरेको थिएँ, भोलि ५ बजेसम्म भनेर आज जुन नाटक गरिएको छ, यसबाट राष्ट्रपति पनि लोकतन्त्र र संविधानका विरुद्ध गएको कुरा प्रमाणित भएको छ ।

अहिले यो कोभिड महामारीको कारणले जनताको जीवन धरापमा परिराखेका बेलामा त्यतापट्टि ध्यान केन्द्रित गर्नु त कता छ कता, अहिले फेरि एउटा राजनीतिक षडयन्त्रमार्फत देशमा दुर्घटना निम्त्याउने जो काम गरिएको छ, यो राष्ट्र, जनता र संविधानमाथिको घोर अपराध गरिएको म ठान्दछु । र, यसका विरुद्ध अब सबै जागरुक हुनुपर्ने हुन्छ ।

राष्ट्रपतिजस्तो गरिमामय पद, जसलाई हामी सबैले मिलेर एउटा सम्मानितरुपमा स्थापित गर्न चाहेका थियौं । राष्ट्रपतिले अस्ति सपथ ग्रहणका बेलामा पनि प्रधानमन्त्रीको त्यो हरकत, देशका सबै बुद्धिजीवी, संविधानविद् र नागरिकहरुले लाजमर्दो घटनाका रुपमा लिएका थिए, त्यसलाई सच्याउनतिर लाग्नु त कता हो कता, अझ उल्टै देशलाई नै दुर्घटनामा लैजाने जो काम भएको छ, यो क्षम्य छैन ।

सबै राजनीतिक दल र नागरिक समाजले राष्ट्रपतिको यो गैरजिम्मेवार र संविधानविरोधी क्रियाकलापको विरोधमा आवाज उठाउनुपर्छ भन्ने मलाई लाग्छ । सबै राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी र सबै आम जनसमुदायले यो राष्ट्र, जनता, लोकतन्त्र र संविधानका विरुद्ध भइराखेको षड्यन्त्रको फेरि प्रतिवाद गर्न जरुरी छ ।

देशलाई जसरी पनि दुर्घटनातर्फ लैजाने षड्यन्त्र अहिले भइराखेको छ, हामी सबै देशभक्त, लोकतन्त्रवादी, संविधानका पक्षधरहरु र शान्तिका पक्षधरहरुले एक भएर अगाडि बढ्नुको कुनै विकल्प छैन ।

काँग्रेस, जसपा, माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र मोनविक्रमहरुसँग पनि म लगातार अन्तरक्रियामा छु । अब मोर्चा बनाएर अगाडि जानुको विकल्प छैन । म अहिले सबै राजनीतिक दलका नेताहरुसँग छलफलमै छु । जिम्मेवारीका साथ छलफल अगाडि बढाउनुपर्छ । हामी भोलि बिहान र दिउँसो राजनीतिक दलहरु, बुद्धिजीवी नागरिक समाजसँग एउटा समझदारी बनाउनेतिर लाग्छौं ।

आजका दुईवटा घटना, सर्वोच्च अदालतले गरेको ७ जना मन्त्रीलाई हटाउने निर्णय र राष्ट्रियसभाको रिक्त पदमा भएको उपनिर्वाचनको परिणामले केपी र केपी गुटको स्थिति कति नाजुक दिशातिर गएको छ र जनतामा कति अलोकप्रिय भइसकेको छ भन्ने कुरा प्रमाणित भएको छ ।
साभार: रातोपाटी

प्रतिक्रिया