राष्ट्रिय सरकार बनाऔँ, सबैको सहयोगमा कारोनाविरुद्ध लडौँ : प्रधानमन्त्री ओली

admin

काठमाडौं, ७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने खेलका कारण अरू काममा ध्यान केन्द्रित हुन नसकेकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएका छन् । बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले खास कारण विना नै आफूलाई प्रधानमन्त्रीबाट हटाउन एक वर्ष अघिदेखि विभिन्न खेल भइरहेको र यस्ता खेलका कारण कारोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रण, विकास निर्माणजस्ता काममा केन्द्रित हुन नपाएकाले नयाँ सरकारका लागि पछिल्लो कदम भएको बताए ।

सरकारमाथि प्रहार र काम गर्न नदिने वातावरणकै कारण यसअघि संसद् विघटन गरिएको र यदि त्यहीअनुसार सबै दल जुटेका भए यतिबेला नयाँ संसद् र सरकार पाइ देशले गति लिने भए पनि आफ्नो त्यो प्रयास सफल नभएको उनले बताए । ‘फेरि पनि उस्तै खेल चलिरहेकाले महामारी नियन्त्रण, विकास निर्माणका काममा केन्द्रित हुने गरी सरकार गठन होस् भन्ने मेरो चाहना छ’, उनले भने ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले नयाँ सरकारलाई त्यो तयारीका लागि सरकार गठन गर्ने बाटो खोलिदिएको उनको भनाइ छ । यस्तै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कर्मकाण्ड गर्नुभन्दा सिधै सरकार गठनको आह्वान उचित भएकैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ सरकारको लागि आह्वानको अनुरोध गरिएको बताए । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त हुने आधार नरहेको कारणले गर्दा राष्ट्रपतिलाई नयाँ सरकार गठनको लागि सिफारिस गरिएको दाबी पनि गरे ।

आफूले विश्वासको मत पाउने नदेखेपछि छिटै अर्को सरकार बनोस् र बजेट, नीति तथा कार्यक्रम ल्याउन सजिलो होस् भनेर धारा ७६ को उपधारा (५) अनुसार सिफारिस गरिएको प्रधानमन्त्रीको दाबी छ । उनले हिजोको आह्वान बाहिर आएपछि बहुतै कृत्रिम नाटकीय व्याख्या भएको जिकिर पनि गरे ।

‘जेठ ५ गते संविधानले तोकेअनुसार बजेट प्रस्तुत गर्नुपर्छ । नीति तथा कार्यक्रम र बजेट पेस गर्नका लागि पनि छोटो समय दिएर सरकार गठनको आह्वान भएको हो । विश्वासको मत लिने कर्मकाण्ड पूरा गर्ने र फेरि पराजित भएर धारा ७६ को उपधारा ५ मा जाने समय थिएन । १२ वा १४ गते नयाँ सरकार बन्यो भने कसरी बजेट आउन सक्छ त भन्ने हिसाबले छोटो समय दिएर नयाँ सरकार गठनको आह्वान भएको हो’, ओलीले भने ।

‘विश्वासको मत लिने कर्मकाण्ड गरे पनि आखिर धारा ७६ को उपधारा ५ मा नै जानुपर्छ, त्यसरी प्रक्रिया लामो बनाउनुभन्दा सिधै सरकार गठनको आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष आग्रह गरेका हौँ’, प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न समेत आव्हान गरेका छन् । ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका हुन् ।

‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कि राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड-१९ का विरुद्ध लडौँ ।’ उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे । उनले आफ्नो च्वाइस आफ्नै नेतृत्वको सरकार रहेको भन्दै हुँदै नभए संसद विघटनको बाटोमा जानसक्ने संकेत गरे ।

यसैगरी उक्त सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर नयाँ सरकार बनाउन आग्रह गरेको तर देउवाले कुनै प्रतिक्रिया नदिएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘मैले देउवाजीलाई फोन गरेर नयाँ सरकार बनाउनुहोस्, म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु भनेँ तर उहाँले प्रतिक्रिया दिनुभएन, यस्तै उपयुक्त विकल्प दिनुहोस् म सहयोग गर्नका लागि विचार गर्छु पनि भने, त्यस्तै आउनुहोस् राष्ट्रिय सहमतिको सरकार बनाएर अहिलेको सङ्कटलाई पार लगाऔँ भनेँ त्यसमा पनि उहाँले मान्नुभएन ।’

अहिले देशको राजनीतिलाई विभाजनमा लैजाने मात्रै कुरा भइरहेको भन्दै ओलीले आफ्नै दलका नेता माधवकुमार नेपाल, माओवादी केन्द्र र नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गरे । ‘राजनीतिलाई विभाजनमा लैजाने मात्रै कुरा नगर्नुस् उपयुक्त विकल्प दिनुहोस् भनेँ, त्यो सक्नुभएन । उहाँहरूले राजनीतिलाई विवादमा लैजान खोज्नुभएको छ ।’

यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथिको विरोध सङ्घीय गणतन्त्रमाथिको आक्रमण भएको पनि बताएका छन् । ओलीले संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा राष्ट्रपतिमाथि किन विरोध भएरहेको भनेर प्रश्न गरे ।

राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौती दिए । राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको हो ।

प्रधानमन्त्रीले राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था रहे पनि प्रक्रिया नै मिचेर राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै विभिन्न राजनीतिक दल, संविधान र कानुनविद्, बुद्धिजीवी लगायतले विरोध गरेका हुन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको विपरीत भएको बताइसकेका छन् ।

प्रतिक्रिया