पार्टीको अनुशासन नाघेकालाई उचित हिसाब-किताब हुन्छ, महामारीकै बीच पनि चुनाव गर्न सकिन्छ : प्रधानमन्त्री

admin

काठमाडौं, ७ जेठ : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा लैजानु भनेको दुई पार्टी एकीकरणअघिको अवस्था नभइ एकीकरणसहितको अअस्थामा फर्कनुरहेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई पार्टी एकीकरणपछि राखेको नाम अर्को पार्टीसँग जुधेर दर्ता खारेज भए पनि एकीकरण खारेज नभएकाले पार्टी अलग भएपछि पनि एमालेमै रहेका एकीकरणताकाका नेताहरूलाई हटाउन नसक्ने बताए ।

उनले अहिले एकीकरणसहितको एमाले भएकाले त्यहीअनुसार पार्टीको जिम्मेवारी बाँडफाँड र समस्या समाधान हुने बताए । एमालेभित्रका असन्तुष्ट पक्षहरूले लोकतन्त्र र संसदीय प्रणालीकै धज्जी उडाइरहेको ओलीको भनाइ छ । कर्णालीमा भएको फ्लोर क्रस, राष्ट्रिय सभा चुनावमा रामबहादुर थापाको पराजय जस्ता काम संसदीय र दलीय प्रणालीमा क्षमा गर्नै नसक्ने भएको उनले बताए ।

‘पार्टीको अनुशासन नाघेकाहरूलाई उचित हिसाब-किताब हुन्छ’, चेतावनी दिँदै अध्यक्ष ओलीले भने । यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीकै बीचमा पनि चुनाव गर्न सकिने पनि बताएका छन् । महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै उनले चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि हुन सक्ने बताए । सोही सम्मेलनमा उनले तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताए ।

यस्तै अहिले अक्सिजनको अभाव हट्न थालेको, अस्पतालमा शय्या लगायतको क्षमता बढेको, खोप सबैलाई नसके पनि सकेसम्म धेरैलाई लगाइने भएकोले केही समयमा अवस्था सामान्य बन्दै जाने र त्यसपछि चुनाव गर्न समस्या नहुने उनले बताए । संसद् विघटन नै नभए पनि फागुनमा पालिकाको चुनाव गर्नैपर्ने बाध्यता भएकोले केही अघि संसद्को चुनाव गर्न पनि असम्भव नरहेको ओलीको भनाइ छ ।

प्रतिक्रिया