विपक्षी गठबन्धनको संयुक्त बैठक चल्दै, राष्ट्रिय जनमोर्चा पनि सहभागी

admin

काठमाडौं, ८ जेठ : विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक चलिरहेको छ । प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल-नेपाल समूहको छलफल सुरु भएको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिए ।

(हिजो) शुक्रबार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गरेका थिए । १४९ जनाको हस्ताक्षरसहित दाबी पेस गर्दासमेत प्रधानमन्त्रीमा नियुक्त नगरि प्रतिनिधि सभा नै विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने कदमलाई विपक्षी गठबन्धनले प्रतिगमनको रुपमा लिएको छ ।

शनिबारको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबैजनाको तर्फबाट अदालतमा रिट हाल्नेबारेसमेत छलफल हुने नेताहरुले बताएका छन् । गएराति मध्यावधि चुनावको घोषणा भएलगत्तै राजनीतिक दलहरु बिहानैदेखि आन्तरिक, औपचारिक र अनौपचारिक छलफलमा व्यस्त छन् । आन्तरिक छलफलपछि उनीहरु अहिले संयुक्त छलफलमा सामेल भएका हुन् । बैठकमा राष्ट्रिय जनमोर्चासमेत सहभागी भएको छ ।

प्रतिक्रिया