युद्धविरामको सहमतिपछि गाजामा मानवीय सहायता सामग्रीको पहिलो खेप पुग्यो

admin

एजेन्सी, ८ जेठ : इजरायल र प्यालेस्टाइनले युद्धविरामको सहमति गरेपछि गाजामा मानवीय सहायता सामग्रीको पहिलो खेप पुगेको छ । युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुलगायत विभिन्न दातृ संस्थाहरुले सहायता सामग्री पुर्‍याउन थालेका हुन् । स्वास्थ्य सामग्री, खानेकुरा र इन्धन बोकेका ट्रक गाजामा पुगेको बीबीसीले जनाएको छ ।

लडाइँका कारण हजारौँ नागरिक घाइते भएकाले उनीहरुको उपचारका लागि तत्काल व्यवस्था मिलाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । युद्धविरामपछि प्यालेस्टाइनीहरु घर फर्किएका छन् । ११ दिनसम्म चलेको लडाइँमा २५० जनाभन्दा धेरैको ज्यान गएको थियो । गाजामा एक सय महिला तथा बालबालिका र २२५ जना हमास लडाकु रहेको इजरायलले दाबी गरेको छ ।

तर, हमासले आफ्ना कति लडाकु मारिए भन्ने खुलाएको छैन । इजरायलतर्फ दुई बालबालिका र एक सैनिकसहित १३ जनाको ज्यान गएको छ । हिंसाका कारण हजारौँ मानिस विस्थापित भएका छन् । द्वन्द्वका क्रममा कयौँ संरचनाहरु ध्वस्त भएका छन् । ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि वर्षौं लाग्ने बताइएको छ ।

प्रतिक्रिया