बहराइनद्वारा नेपालीसहित पाँच देशका नागरिकको प्रवेशमा रोक

admin

काठमाडौं, ९ जेठ : बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आइतबारदेखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो । तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् ।

यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाँचौँ र दसौँ दिनमा समेत पीसीआर परीक्षण गर्नुपर्छ ।

यसैगरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना संक्रमण दर बढेकाले संक्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ । ३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरुमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएको १४ दिन बढी भइसकेको र कोरोना संक्रमण निको भएकाहरूले मात्र अनुमति पाउनेछन् ।

यी ठाउँमा प्रवेश गर्नका लागि BeAware एप्लिकेशनमा Green Shield देखाउन अनिवार्य गरिएको छ । निजी भेला समारोहमा समेत अधिकतम ६ जनाको सहभागिता निश्चित गरिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि जारी मापदण्ड नमान्नेलाई बहराइन दिनार १ हजारदेखि १० हजारसम्म र कम्तीमा तीन महिनाको जेल सजाय वा दुवै हुन सक्नेछन् । बहराइन सरकारले त्यहाँ रहेका आप्रवासी श्रमिकलाई पनि खोप उपलब्ध गराइरहेको छ । खोप लगाउन बहराइन सरकारको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया