पर्सनल डान्सको कुनै अर्थ छैन, राष्ट्रपतिले गरेका काममाथि कुनै उजुरी लाग्दैन : प्रधानमन्त्री ओली

admin

काठमाडौं, ९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन् ।

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै उनले जति जनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताए । उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ? सच्चाइका लागि एक जनाले हाले पनि, धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाइ-सच्चाइ नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो, त्यसमा कुनै उजुरी लाग्दैन ।’

नेपाली कांग्रेसका सभापति देउवाले आफू प्रधानमन्त्री बन्न अरू दलका सांसदको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गरे । उनले भने, र्किते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरू पार्टी बागी विद्रोही सिर्जना गर्नु । नेकपा एमालेका केही मानिसलाई उकासेर । धेरैले आफूले हस्ताक्षर नगरेको भनेर विज्ञप्ति निकालेका छन् । लोकतन्त्र भनेको अनुशासित प्रणाली हो । अराजकता होइन । अनुशासनहिनता होइन । जसपाबाट ३२ जना सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हत्कण्डा प्रयोग गरेर । यो परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौँ ?

उनले संसदीय गणितमा फोहोरी खेल भएको र सांसद किन्ने र बिक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद् विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताए ।

ओलीले भने, ‘संसद्को मौजुदा गणित फोहोरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसदको मौजुदा गणित भिन्न भयो । दलीय अनुशासनको कुनै अर्थ छैन । बिकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौ दान गर्न कुदेको होला ? संसदमा गणित अशक्त र भद्रगोल भइसकेको अहिलेकै स्थितिले देखाएको छ । आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महत्त्वको हस्ताक्षरसहितको समर्थनमा एक सय ५३ सिटको दाबी लिएर म राष्ट्रपतिकोमा गएँ । संसद् विघटन नहोस्, वैकल्पिक सरकार दिन सकियोस् भनेर ।’

वैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उनले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताए । यस्तै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर, दूषित अभ्यास गरी, दूषित कागज राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणी गरे ।

आफूले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रति पनि विश्वास नगरेको प्रधानमन्त्री ओलीले बताए । उनीहरूले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उनको तर्क थियो । ओलीले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासनभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरे ।

लोकतन्त्र अनुशासित , मर्यादित र सामूहिक व्यवस्था भएको भन्दै उनले वुद्धि र प्रतिष्ठाको मिस युज गरेर बुद्धिजीवीले पूर्वाग्रहका साथ संविधानको अपव्याख्या गरी संविधानमाथिको निष्ठामा आँच पुराउने काम गरेको टिप्पणी गरे । उनले भने, ‘दलीय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन दलीय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन ।’

प्रतिक्रिया