प्रतिनिधि सभा पुनर्स्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

admin

काठमाडौं, १० जेठ : सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा दायर गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल-नेपाल समूहका सांसदको तर्फबाट सर्वोच्चमा रिट निवेदन दायर भएको हो ।

रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तसका लागि अन्तरिम आदेश दिन माग गरिएको छ । यस्तै प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न पनि रिट निवेदनमार्फत माग गरिएको छ । विपक्षी गठबन्धनले संसद् अधिवेशनको मिति तोक्नुपर्ने समेत माग गरेको छ । रिट निवेदनमा एक सय ४६ सांसदले हस्ताक्षर गरेका छन् ।

गएको बैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेका २७ सांसद अनुपस्थित भएका थिए । गएको शुक्रबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न २७ सांसदले हस्ताक्षर गरेको भए पनि सर्वोच्चमा रिट दायर गर्ने समयमा २३ सांसद मात्रै उपस्थित भएका हुन् ।

संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे पनि उनले विश्वासको मत नलिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

त्यस्तै विपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एक सय ४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओलीबाट एक सय ५३ सांसदको समर्थनको दाबी परेपछि विवादित भएको भन्दै राष्ट्रपतिले दुवै दाबी खारेज गरेकी थिइन् । त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया