यी हुन् देउवा पक्ष परमादेश माग्ने रिटमा हस्ताक्षर नगरेका सांसाद

admin

काठमाडौं, १० जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हालसम्म माधवकुमार नेपाल पक्षला २३ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । माधव नेपाल पक्षका योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।

यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन् । कांग्रेस संसदीय दलको कार्यालयमा २३ जनाको हस्ताक्षर र वारेसनामा पुगिसकेको र अन्यको नागरिकता मगाइएको छ । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल-नेपाल समूहका सांसदको तर्फबाट सोमबार सर्वोच्चमा रिट निवेदन दायर भएको हो । सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने र संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको छ ।

रिट निवेदनमा माधव नेपाल समूहका नेताहरू माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डेलगायतले हस्ताक्षर गरेका छन् । यस्तै कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरु, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, भीम रावल, कलिला खातुन र रामकुमारी झाँक्रीले पनि हस्ताक्षर गरेका छन् । यसैगरी झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपक प्रकाश भट्ट र नारायण खतिवडाले पनि हस्ताक्षर गरेका छन् ।

अहिलेसम्म रिट कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन् । यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्ताक्षर बुझाएका थिए ।

प्रतिक्रिया