दुई अर्बको स्वास्थ्य सामग्री भित्रियो, स्वास्थ्य सङ्कटकालको सुझावमा सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री

admin

काठमाडौं, १० जेठ : कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको बताएका हुन् ।

उनले कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न देशबाट सहयोग आउने क्रम चलिरहेको बताए । मन्त्री त्रिपाठीका अनुसार अमेरिका, स्पेन, स्विट्जरल्यान्ड, चीनलगायत देशबाट दुई अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

यस्तै निःशुल्क परीक्षण तथा उपचार, स्वास्थ्यकर्मीको भत्तालगायतमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । खोप कार्यक्रम र हाई डिपेन्डेसी युनिटका लागि दुई अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।

उनले मानिसको ओहोरदोहोर नरोकिँदा र केही कार्यालय सञ्चालन भइरहेकाले सोचे जति कोरोना रोकथाम नभएको स्वीकार गरे । स्वास्थ्य मन्त्री त्रिपाठीले आउँदो चार हप्तामा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै जाने अवस्था देखिएको पनि बताए ।

उनका अनुसार एक हप्तायता औसतमा दैनिक आठ हजार जना नयाँ संक्रमित थपिने गरेका छन् । स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना रोकथाम तथा बिरामीको उपचारका लागि भेन्टिलेटर र अक्सिजन सिलिन्डर थपेको र फेरि थप्दै जाने बताए ।

स्वास्थ्य सङ्कटकालको सुझावमा सरकार सकारात्मक
कोरोना संक्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ । सोही बिफ्रिङमा स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसको रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताए ।

उनले भने, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई सबैले प्राथमिकता दिनुपर्दछ ।’

यस्तै उनले कोरोना रोकथाम तथा उपचारका लागि सरकारले सके जति गर्ने पनि बताए । थप खोप ल्याउन अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए । युरोपेली सङ्घसँग मौज्दातमा रहेको खोप नेपाल ल्याउने विषयमा पनि छलफल थालेको उनले बताए ।

प्रतिक्रिया