ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

admin

काठमाडौं, १० जेठ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।

अधिवक्ता यज्ञमणि न्यौपानेले जनता समाजवादी पार्टीको समर्थनमा स्पष्ट बहुमत पुगेकाले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि राष्ट्रपतिको नाममा परमादेश वा उपयुक्त आदेश जारी गर्न माग गर्दै सोमबार निवेदन दर्ता गराएका हुन्।

जेठ ७ गते वैकल्पिक सरकार गठनका लागि दावी नपुगेको भन्ने राष्ट्रपतिको निर्णयलाई उत्प्रेषणका आदेशले बदर गर्नुपर्ने माग पनि निवेदनमा उल्लेख छ।


प्रतिनिधिसभा विघटन गर्ने निर्णय र आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भनि गरेको सिफारिश र राष्ट्रपतिले गरेका निर्णयहरू गैरसंवैधानिक र गैरकानूनी भएको जिकिर पनि अधिवक्ता न्यौपानेले गरेका छन्।

उनले ती कामकारवाही र निर्णयहरूलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरे। निवेदनमा सुविधा र सन्तुलनको दृष्टिकोणबाट तत्काल अन्तरिम आदेश जारी नभएमा राष्ट्रलाई अपूरणीय क्षति पुग्ने र धारा ७६ को (५) बमोजिमको प्रधानमन्त्रीको रूपमा प्रतिनिधिसभाका सांसद ओलीलाई शपथ ग्रहण गर्ने र गराउन कार्य नरोकाउन भनिएको छ।

प्रतिक्रिया