मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

admin

एजेन्सी, ११ जेठ : पश्चिम अफ्रिकी देश मालीमा सेनाले ‘कू’ गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनी र रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि संयुक्त राष्ट्र सङ्घले निन्दा गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई विना सर्त तत्काल रिहा गर्न आग्रह गरेको छ । निकै गरिब पश्चिमी अफ्रिकी देश मालीमा रहेको संयुक्त राष्ट्र सङ्घको मिसनले यस कदमको आलोचना गर्दै तीनै जनालाई तुरुन्त रिहा गर्न र शान्ति बनाइराख्न अपिल गरेको हो ।

यस्तै अफ्रिकी सङ्घ, इकोनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, यूरोपेली सङ्घ र अमेरिकाले पनि राष्ट्र प्रमुखहरूलाई नियन्त्रणमा लिनु निन्दनीय भएको भन्दै शीर्ष नेताहरूलाई विना कुनै सर्त रिहा गर्न माग गरेका छन् ।

यसअघि गएको भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो । राष्ट्रपति बाह नद र प्रधानमन्त्री मोक्तार औएनीई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया