काठमाडौं, ११ जेठ : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल नागरिकता संशोधन विधेयक इन्डियाली आप्रवासीका सन्तानका निम्ति ल्याइएको हुँदा तराईका युवालाई सचेत रहन आग्रह गरेको छ । ग्रेटर नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ ९ गते जारी नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७८ नेपालस्थित इन्डियाली आप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसीन गराउने षड्यन्त्रको पुलिन्दा भएकाले सरकारको यस राष्ट्रघाती कदमको मंगलबार एक विज्ञप्तिमार्फत घोर भर्त्सना जनाएको छ ।
उक्त विज्ञप्तिमा यो अध्यादेश वर्षौंदेखि तराईका जमिनदारको घरमा आश्रित गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले नभएर इन्डियाबाट प्रायोजित रूपमा बुहारी बनेर नेपाल आउने आप्रवासी युवतीहरूलाई सिन्दुर-पोतेसँगै हातमा तत्काल नागरिकता उपहार दिने बदनियतले जारी गरिएको बताइएको छ ।
यस्तै विज्ञप्तिमा यस अध्यादेशको सबभन्दा ठुलो बदनियत इन्डियामा गर्भवती भएका महिलालाई नेपालका अस्पतालमा ल्याएर शिशु जन्माउने अवसर प्रदान गर्ने र अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र लिई शिशु बालिग भएपछि त्यही जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने हतियार बनाएको आरोप छ । यो अध्यादेशबाट सबभन्दा ठूलो मर्का तराई मूलका आदिवासी-मूलवासीमा पर्ने देखिएको हुँदा ग्रेटर नेपालले यसबाट पर्ने असरको निदान खोज्न तराईमूलका युवाहरूलाई आग्रह समेत गरेको छ ।
यसैगरी तराईका मूलवासी युवा र त्यहाँका आदिवासी जनताले राज्यका तर्फबाट पाउने सुविधा टाठाबाठा इन्डियाली आप्रवासीले पाउने र राजनीतिक पहुँच र प्रतिनिधित्व पनि उनीहरूकै बढ्ता हुने निश्चित भैसकेको बताएको छ । ग्रेटर नेपालले सत्यता महन्थ ठाकुर र राजेन्द्र महतोका तीनपुस्ते हेरे प्रमाणित हुन्छ भन्दै नेपाली नागरिकताको प्रमाणपत्र नेपालीले मात्र पाउनुपर्छ भन्ने कुरालाई तराईको अन्तरात्माको आवाज बनाउन तराईका युवासँग आग्रह गरेको छ ।