उपत्यकामा एक हप्ता खाद्यान्न पसल बन्द, तरकारीको मुख्य थोक बजार खुले पनि ढुवानीका गाडीमा जोरबिजोर लागू

admin

काठमाडौं, १२ जेठ : काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा भिड कम गर्न जोरबिजोर प्रणाली लागू भएको छ । निषेधाज्ञाको समयमा पनि बजारमा भिड कम नभए पछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरेको हो । बजारमा हुने भिड रोक्न तरकारी लिन जाने गाडीमा जोरबिजोर प्रणाली लागू गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका गाडी चल्ने छ । यो नियम तरकारी लिन जाने जाने गाडीमा मात्र लागू हुनेछ । तरकारी लिएर थोक बजार पुग्ने गाडीमा भने यो नियम लागू हुने छ । यस्तै, तरकारी लिन जाने गाडी बिहान ८ बजे भित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि उनले जानकारी दिए ।

कालिमाटीको थोक तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुला रहने छ । थोक बजारमा अहिले झण्डै चार सय जना व्यापारीले व्यापार गर्दै आएका छन् । यस्तै अहिले दैनिक साढे ५ सय टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ ।

यसैगरी काठमाडौं उपत्यकाकामा (पर्सि) शुक्रबारदेखि २० गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुने भएका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पर्सिदेखि एक हप्ता खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको हो ।‍

काठमाडौं उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञा भोलि सकिंदैछ । कोरोना संक्रमणको जोखिम बढेको निष्कर्षका साथ काठमाडौं उपत्यकामा थप कडाइका साथ जारी गरिएको आदेश पर्सिदेखि लागू हुने प्रशासनले जनाएको छ ।

शुक्रबारदेखि एक हप्ता खाद्यान्नका पसलसमेत बन्द हुने भएकाले बुधबार र बिहीबार नै खाद्यान्नको जोहो गर्न आग्रह गरिएको छ । एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द हुनेछन् । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण नरोकिएकाले यो निर्णय गरेको बताए । बिहानको समयमा भीडभाड बढेपछि यसलाई रोक्न खाद्य पसलसमेत बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ । उनका अनुसार तरकारी, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म यस्ता पसल खुला रहने छन् ।

अन्य सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । यो अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।

औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्ने छ । अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

सार्वजनिक एवं निजी गाडी पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी मात्रै सञ्चालन हुनेछ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका गाडी भने ब्यानर राखेर राति ९ देखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी २० प्रतिशत कर्मचारी मात्र परिचालन गर्नुपर्ने भनिएको छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने गाडीको हकमा सहजीकरण गरिने छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै यस्तो कार्य गर्दा ७ जनाभन्दा धेरै उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ ।

नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित् वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा एक जना उपत्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भइ जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजावत गर्न पाइने छ । औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धीका पसल जुनसुकै समयमा निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया