कोरोना महामारीको आडमा सरकारले राजनीति गर्न खोज्यो : कांग्रेस

admin

काठमाडौं, १२ जेठ : नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि नागरिकमा आतङ्क फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्डमा बसेको पदाधिकारी बैठकले कोरोना संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।

file photo

आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि सरकारले कोरोना संक्रमणको नाममा नागरिकमा आतङ्क फैलाउन खोजेको ठहर बैठकले गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सह-महामन्त्री प्रकाशशरण महतले कोरोनाको नाममा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकार अघि बढेको बताए ।

उनले कोरोना संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए ।

उनले भने, ‘सरकार कोभिड संक्रमणलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । नागरिकमा आतङ्क फैलाउन खोज्दै छ । दुई दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरू गर्दैछ । सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासँगै दुर्गम गाउँ–गाउँमा पीसीआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिस सरकारबाट भइरहेको छ । यसको घोर भर्त्सना गरेका छौँ । कोभिड महामारीलाई कम गर्नको लागि सार्थक काम गर्न सरकार केन्द्रित छैन । यो आडमा आफ्नो सत्ता बचाउनका लागि नागरिकमा आतङ्क फैलाउने काममा मात्रै सरकार केन्द्रित छ ।’

महामारीमा नागरिकको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नु भन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवम् भर्त्सना गरेको नेता महतले जानकारी दिए ।

कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरूको ज्यान गइरहेका तथा दुर्गम क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले सञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रूपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुका साथै कानुनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।

केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया