यस्तो छ साउदी सरकारले लागू गरेको नयाँ नियम

admin

काठमाडौं, १२ जेठ : कोरोना संक्रमण रोकथामका लागि साउदी सरकारले आफ्नो देश प्रवेश गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको छ । साउदी सरकारले २४ मेदेखि लागू हुने गरी आफ्नो देशमा प्रवेश गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको हो । साउदी प्रवेश गर्दा ८ वर्षभन्दा माथिका सबैले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको या कोरोना विरुद्धको खोप दुवै डोज पूरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्नेछ ।

पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट ७२ घण्टा भित्रको हुनुपर्नेछ । साउदीको अकामा भएका व्यक्तिले भने साउदी यात्रा गनुपूर्व स्वास्थ्य बिमा गनुपर्ने छैन । तर भिजिट भिसामा साउदी जानेले भने कोरोना संक्रमणको उपचारसमेत कभर गर्ने किसिमको स्वास्थ्य बिमा गर्नुपर्नेछ । यस्तो बिमा कोरोनाको संक्रमण उपचार क्लिनिक वा अस्पतालमा भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनको संस्थागत क्वरेण्टीन खर्चसमेत व्यहोर्ने खालको हुनपर्छ ।

साउदी अरेबिया प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी पुगेपछि अनिवार्य ७ दिनको संस्थागत क्वरेण्टीन बस्नुपर्नेछ । तर दुवै डोज खोप लगाएकाहरूले भने क्वरेण्टीनमा बस्न पर्ने छैन । साउदीले संस्थागत क्वरेण्टीनको व्यवस्था यात्रु प्रवेश गरेको सहरमा नै व्यवस्था गरेको हुन्छ । संस्थागत क्वरेण्टीन बसेको समयमा कोरोना संक्रमण देखिएमा क्वरेण्टीनको १० देखि १४ दिन सम्मको पनि हुन्छ ।

साउदीको अकामा भएका व्यक्ति साउदी प्रवेश गरेपछि संस्थागत क्वरेण्टीमा बस्दा बस्दै संक्रमण भएर उपचार गर्नु परेमा सबै खर्च साउदी सरकारले नै गर्नेछ । तर भिजिट भिसामा साउदी गएका विदेशी नागरिकको हकमा भने व्यक्तिले गरेको स्वास्थ्य बिमाले नै कभर गर्नुपर्ने हुन्छ । यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वरेण्टीनसम्बन्धि नियमको उलङ्घन गरेमा पुनः साउदी अरबमा आउन नपाउने गरी फिर्ता गर्ने साउदी सरकारले जनाएको छ ।

प्रतिक्रिया