आउँदो आइतबारदेखि राहदानी सम्बन्धी सेवा खुला गरिने : साउदी

admin

काठमाडौं, १३ जेठ : साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि राहदानी सम्बन्धी सेवा खुला गर्ने जनाएको छ । फ्रन्ट डेस्कमा काम गर्ने आफ्ना कर्मचारीमा कोरोना संक्रमण भएपछि केही समयदेखि बन्द रहेको राहदानी सम्बन्धी सेवा मे ३० अर्थात आउँदो आइतबारदेखि खुला गर्ने भएको हो ।

दूतावासका अनुसार सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि बिहीबारसम्म राहदानी नवीकरणको काम हुनेछ भने बिहिबार र शुक्रबार राहदानी वितरण गरिने छ । राहदानी सेवाबाहेक मागपत्र प्रमाणीकरण लगायत दूतावासबाट प्रदान गरिने अन्य सेवाहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहेको दूतावासले जनाएको छ ।

कोरोना संक्रमणको बढ्दो अवस्थाका कारण दूतावासभन्दा बाहिर गएर राहदानी संकलन गर्न सक्ने सम्भावना नरहेको पनि दूतावासले प्रष्ट पारेको छ । यस्तै राहदानी नवीकरण गर्न चाहनेलाई दूतावासमै आउन आग्रह गरेको छ । राहदानी नवीकरण गर्न आउँदा सक्कल राहदानी, त्यसको एकप्रति फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्य रुपमा ल्याउनुपर्ने छ ।

दूतावासमा फोटोकपी नगरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै कोरोना नियन्त्रण र रोकथामका लागि साउदी सरकारले जारी गरेका मापदण्डको पालना गर्न पनि त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया