काठमाडौं, १४ जेठ : गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई पनि कारबाही हुने बताएको छ । बिहीबार राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृहमन्त्रालयले जनाएको छ ।
घटनाको सत्यतथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन समेत गरिएको मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयले यसअघि सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ ज्लिलामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारवाही गरिसकेको र कोभिड बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमाथि हुने यस प्रकारका घटना घट्न नदिन, दोषीलाई कानुन बमोजिम कारवाही गर्न र स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान पुर्याउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन समेत दिइसकिएको जानकारी पनि दिएको छ ।
यस्तै भेरी अस्पतालमा वार्डमा नै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको घटना प्रति गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड-१९ महामारीको यो बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय काम भएको भन्दै छानबिनका क्रममा दोषी पाइएकालाई कारबाही हुने विज्ञप्तिमा भनिएको छ ।
यसअघि शुक्रबार स्वास्थ्य मन्त्रालयले घटनामा संलग्नलाई कारबाही गर्न अपिल गरेको थियो । बिहीबार बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना संक्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए ।
प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । यस्तै घटनाको विरोधमा डाक्टर तथा स्वास्थ्यकर्मीले शुक्रबार बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै आएका छन् ।