आज मात्रै झण्डै १० हजार जना कोरोनामुक्त, थप ९६ जनाको ज्यान गयो

admin

काठमाडौं, १४ जेठ : शुक्रबार नेपालमा झण्डै १० हजार जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नौ हजार आठ सय ४१ जनाले कोरोनालाई जितेका छन् । एकै दिन संक्रमणमुक्त हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

अहिले संक्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या चार लाख २८ हजार ६ सय ७० पुगेको छ । यस्तै बितेको २४ घण्टामा ६ हजार नौ सय ५१ जना संक्रमित थपिएका छन् ।

पीसीआर विधिमार्फत १९ हजार तीन सय १३ जनाको परीक्षण गर्दा ६ हजार आठ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनमार्फत सात सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एकै दिन २३ सयभन्दा बढी संक्रमित थपिएका छन् ।

यसमध्ये काठमाडौं जिल्लामा मात्र १७ सय ९६ संक्रमित फेला परेका छन् । त्यस्तै, ललितपुरमा ३१५ जना तथा भक्तपुरमा २१३ जना संक्रमित थपिएका छन् । योसहित नेपाल देशभर संक्रमितको संख्या पाँच लाख ४९ हजार एक सय ११ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण थप ९६ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात हजार ४७ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया