काठमाडौं,१४ जेठ : नेकपा एमाले माधव नेपाल समूह र नेकपा माअोवादी केन्द्र मिलेर सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गर्दै आठ जना नयाँ मन्त्रीहरू थपेका छन्। नयाँ नियुक्त मन्त्री हुनेहरुमा लालबहादुर खड्का सामाजिक विकास मन्त्री, पूर्णा जोशी आन्तरिक मामिला तथा कानुन मन्त्री, दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री तथा मानबहादुर धामी उद्योग, वन तथा वातावरण मन्त्री छन्।
सोडारी यस अघि सामाजिक विकास मन्त्रीहुँदा पार्टीकै एक महिलामाथि यौन दुराचार गरेको आरोपमा कारबाहीमा परेका थिए। सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराज नियुक्त गरिएकाे छ।
आजै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले राजीनामा दिएका थिए। यस्तै तारा लामा तामाङलाई मन्त्री बनाउनकै लागि आजै प्रमुख सचेतकबाट हटाइएको थियो। तर, उनले पार्टीमा विवाद रहेको भन्दै मन्त्री पद अस्वीकार गरेको बुझिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका प्रकाश शाहले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। नवनियुक्त्त मन्त्री र राज्यमन्त्रीलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।