बजेटप्रति कांग्रेसको प्रतिक्रिया: कार्यान्वयन हुन नसक्ने झुटको पुलिन्दा, अर्को सरकार आए यो बजेट स्वीकार गर्दैन

admin

काठमाडौं, १५ जेठ : विपक्षी दल नेपाली कांग्रेसले सरकारले शनिवार सार्वजनिक गरेको बजेट कार्यान्वयनको आधार नभएको बताएको छ ।

नयाँ सरकार आएमा यो बजेट स्वीकार्य नहुने कांग्रेसको भनाइ छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गरेको बजेटलाई कार्यान्वयन गर्न नसक्ने झुटको पुलिन्दाको संज्ञा दिए ।

बजेटबारे प्रतिक्रिया दिँदै महतले भने :
बजेटमा भन्नका लागि त केही चिज बाँकी राखेको छैन, तर बजेटको साइज नै ठूलो छ । सबै चिज गर्छुभन्दा ठूलो बनाएको छ । एकतिहाइ अर्थात साढे ५ खर्ब त ऋणबाटै व्यहोर्ने भनेको छ । राजनीतिक रूपमा भन्दा अवैधानिक प्रक्रियाबाट संसद् छलेर यो सरकारले अवैधानिक रूपमा निरन्तरता पाएको छ ।

जेभन्दा जनताको भावनालाई सम्बोधन गर्न सकिन्छ कि भनेर सबै चिज भनेको छ । तर यो पहिला जस्तै झुटको पुलिन्दा हो । पहिलाको पनि हेर्‍यौं, कार्यान्वयन त भएन ।

बजेटमा वर्तमान सरकारको धेरै ठूलो पोलिसी करप्सन समावेश भएको छ । करका दरहरूबारे विगतमा गम्भीर रूपमा कुरा उठेको थियो, कुन वस्तुमा आयात बढाउने भन्ने विषयमा । विद्युत् डिमान्ड शुल्क हटाउने भनेको छ, विगतमा पनि हटाएको हो कि भविष्यमा घटाउन खोजेको हो । यो सरकारको प्रकृतिलाई हेर्दा शंका लागेको छ ।

सबै चिज गर्छु भन्दा चुनाव हुँदा फाइदा हुनसक्छ भनेर ल्याइएको जस्तो देखिन्छ । कार्यान्वयन हुन नसकेपनि हामीले यो भनेका थियौं, गरेका थियौ भनेर आश्वासनको पुलिन्दा बाँड्न ल्याइएको छ । कोभिडको पुनरुत्थानको विषयमा भने हामीले दिएको सुझावका कोणबाट केही कार्यक्रम आएको छ, तर कार्यान्वयनप्रति विश्वास छैन ।

यो सरकार कार्यान्वयनप्रति सिन्सियर छैन । कतिपय कुरा वर्षौंदेखि दोहोरिएका छन् । अगाडि जानै नसक्ने सरकारबाट यो बजेट कार्यान्वयन हुन्छ भनेर आशा गर्न सकिन्न । यो सरकार सत्तामा रहँदा पनि नरहँदा पनि हामीले यो भनेका थियौं भन्ने प्रयोजनका लागि पपुलिस्ट कार्यक्रम ल्याएको छ ।

सांसद् विकास कोष खारेजीबारे के भन्ने ? संसद् नै भंग गरेको छ । संसद् नै खारेज गरेपछि सांसद कोषको के अर्थ रह्यो र ? संसद् फर्कियो भने अर्को बजेट ल्याउँछ । अर्को सरकार आयो भने यो बजेट स्वीकार गर्न सक्दैन ।

प्रतिक्रिया