काठमाडौं, १६ जेठ : नेकपा एमालेको आइतबार साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ । तयारी नपुगेको भन्दै बैठक सारिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक (भोलि) सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी दिए ।
बैठकमा खासगरी गत साता गते स्पष्टीकरण सोधेका १२ नेताहरुमाथिको कारवाहीबारे छलफल हुने बताइएको छ । यसअघि एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै १२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
स्पष्टीकरण सोध्ने निर्णय गरेको केही दिनपछि मात्रै एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पठाएको थियो । स्पष्टीकरण पठाइरहनुपर्ने आवश्यकता नरहेको भन्दै १२ जनाले नै अहिलेसम्म स्पष्टीकरण बुझाएका छैनन् । विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको थियो ।
यसैबीच बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि उनीहरूले विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।