द्विविधा राख्नुपर्दैन बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

admin

काठमाडौं, १६ जेठ : अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड–१९ महामारी नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो र त्यसैअनुसार बजेट केन्द्रित गरिएको छ । कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना र कार्यक्रम कार्यान्वयन गर्छौँ ।’

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए ।

मन्त्री पौडेलले (भोलि) सोमबारदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए । उनले भने, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा द्विविधा राख्नुपर्ने छैन ।’

‘मतदाता प्रभावित पार्न बजेट ल्याइएको होइन’
सरकारले मतदाता प्रभावित पार्नका लागि बजेट नल्याएको बताएको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा उक्त सम्मेलनमा अर्थ मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पारे । अर्थ मन्त्री विष्णु पौडेलले सरकारले कोरोना महामारी नबिर्सिएको र मुख्य चुनौतीको रूपमा स्वीकार गरेर त्यहीअनुसार राजस्वका नीति र कार्यक्रमका साथमा आउँदो वर्षको बजेट आएको बताएका हुन् ।

सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली नागरिकलाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढङ्गले सरकारले काम गर्ने प्रतिबद्धता उनले जनाए । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजस्वको लक्ष्यहरू निर्धारण गरिएको स्पष्ट पारे । उनले सरकारले मतदाता प्रभावित पार्न नभइ अभिभारा पूरा गर्न बजेट ल्याएको बताए ।

संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै अर्थ मन्त्री पौडेलले चुनावपछि पनि नागरिकको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए । उनले बजेटले वर्तमान चुनौतीहरूलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरू पनि हासिल गर्ने प्रतिबद्धता जनाए ।

कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उहाँले संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको बताएका छन् । मन्त्री पौडेलले भने, संवैधानिक प्रबन्ध भयो भएन भनेर द्विविधा राख्नुपर्ने अवस्था छैन । यो संवैधानिक प्रबन्धअनुसार नै आएको छ । देशको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्यो । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।

उनले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोस्रो देश भए जसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्दर्भमा पनि तुलनात्मक रूपमा नेपाल अग्रपङ्क्तिमा उभिने विश्वास दिलाए । बजेटमा नागरिकको जीवन रक्षाका लागि सम्पूर्ण स्रोत, साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिबद्धताका साथ सरकार प्रस्तुत भएको उनले उल्लेख गरे । मन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोप सेवा उपलब्ध गराउने काममा केन्द्रित भएर लाग्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया