देश र जनतालाई असर पर्ने कामकारवाही नगर्न सरकारलाई बिपक्षी गठबन्धनको चेतावनी

admin

काठमाडौं, १६ जेठ : विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनी दिएको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको बिपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा विधिवत् दावी प्रस्तुत गरिसकिएको भन्दै दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनी दिएको हो ।

संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै बैठकले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्धरुपमा सशक्त आवाज उठाउन र दृढताका साथ अग्रसर हुन आह्वान गरेको छ ।

त्यस्तै अध्यादेशबाट मुलुक सञ्चालन गर्ने कोशिष सरकारले गरेको र त्यसैको निरन्तरता बजेट भएको बैठकको ठहर रहेको नेता श्रेष्ठले बताउनुभयो । त्यस्तै बैठकले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया