लुम्बिनीमा सच्याइयो मतदाता नामावली, ४ मन्त्रीलाई मताधिकार प्राप्त

admin

काठमाडौं, १६ जेठ : सोमवार हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा जसपाका ४ जना सांसदले पनि मतदान गर्न पाउने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतवार साँझ ५ बजे निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो ।



जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचन आयोगले आइतवार जसपाबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको लोकान्तरलाई बताए । यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् ।

यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई कारबाही गरेको थियो । उनीहरू चारै जना लुम्बिनी प्रदेश सरकारका मन्त्री हुन् । उनीहरूलाई पार्टीको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए ।

पदमुक्तपछि चारै जनाले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्चले उनीहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । उनीहरू चारै जना वैशाख १९ गते मन्त्री बनेका थिए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यहरू उपनिर्वाचनका मतदाता रहेका छन् ।

प्रतिक्रिया