विद्यालयका पुस्तकमा प्याब्सनको सिन्डिकेट

admin

काठमाडौं, १७ जेठ : गुणस्तरीय पुस्तक रोजेर पढ्न पाउने बालबालिकाको अधिकारमा कमिसनका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले हस्तक्षेप गरेको छ । प्याब्सनले जग्गा तथा भवन खरिद गर्ने रकम उठाउन तीन पब्लिकेसनबाट प्रकाशित पुस्तक पढाउन पालिकासम्म परिपत्र गरेको छ ।

प्याब्सनले बुक प्रोजेक्ट बनाएर आफ्ना सदस्य रहेका निजी विद्यालयमा अनिवार्य गराएर अनधिकृत रूपमा कमिसन उठाउन लागेको हो ।

निजी विद्यालयले शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पाठ्यसामग्रीका रूपमा स्वीकृति दिएका सन्दर्भ सामग्री अर्थात् थप पुस्तक छनोट गरेर पढाउन सक्छन् । तर, निजी विद्यालयले प्याब्सन केन्द्रको निर्देशनका कारण गुणस्तर नभएका पुस्तक पनि पढाउन बाध्य भएको गुनासो गरेका छन् ।

निश्चित पब्लिकेसनका पुस्तक लगाउँदा प्याब्सनलाई ३० प्रतिशतको हाराहारीमा कमिसन आउने स्रोतको भनाइ छ । निजी विद्यालय सञ्चालक भने केन्द्रले निर्णय लादेको भन्दै रुष्ट भएका छन् ।

प्याब्सन केन्द्रीय समितिले भेला गरी सबै प्रदेशमा आफूले तोकेको पुस्तक पढ्न लगाउन ह्विप जारी गरेको छ । प्याब्सन महासचिव कुमार घिमिरेले गत १५ वैशाखमा सबै प्रदेश कार्यसमितिलाई पत्राचार गरी अनिवार्य रूपमा तोकिएको पुस्तक सूची पढाउने व्यवस्था गर्न भनेका हुन् । २ वैशाखमा प्याब्सन केन्द्रीय कार्यसमितिबाट तयार गरेका पुस्तकको सूचीसमेत पठाइएको छ ।

‘प्याब्सन कार्यसमितिले सहमति गरी छनोट गरेका पाठ्यपुस्तकहरू त्यस प्रदेशअन्तर्गतका जिल्ला कार्यसमिति र पालिका कार्यसमितिहरूले सदस्य विद्यालयहरूलाई परिपत्र गरी अनिवार्य रूपमा विद्यालयहरूको पाठ्यपुस्तक सूचीमा समावेश गरी कार्यान्वयन गराउन के–कस्ता पहल गरेका छन् ? आवश्यक अनुगमन तथा निरीक्षण गरी कार्यान्वयनका लागि पहल गर्नुहुन अरोरोध छ,’ पत्रमा भनिएको छ ।

केही पब्लिकेसनका पुस्तक पढाउन अनिवार्य गर्दा प्रतिस्पर्धाबाट चलेका पब्लिकेसन भने टिक्न नसक्ने अवस्थामा पुग्नेछन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार करिब ८० निजी पब्लिकेसनबाट थप सामग्री अर्थात् सन्दर्भ सामग्रीका लागि पुस्तक तयार गरी स्वीकृति पाएका छन् । कतिपयले कक्षा १ देखि १० सम्म तथा केहीले कुनै कक्षा विशेषका पुस्तक तयार गरी स्वीकृति पाएका छन् ।

प्याब्सन केन्द्रीय कार्यसमितिले शैक्षिक सत्र २०७८ का लागि तीन निजी पब्लिकेसन्सका पाँच विषयका पुस्तक अनिवार्य गर्ने सहमति गरी सूचीकृत गरेको छ ।

वेदान्द पब्लिकेसनका अनिवार्य गणित कक्षा १ देखि १० सम्म र ऐच्छिक गणित कक्षा ८, ९ र १० सम्म पढाउन सूची बठाएको छ । त्यसैगरी, टाइम्स पब्लिकेसनका विज्ञान विषय कक्षा ४ देखि १० सम्म र मेरो सेरोफेरो कक्षा १, २ र ३ मा अनिवार्य लागू गर्न परिपत्र गरेको छ । त्यस्तै, क्रियटिभ पब्लिकेसनको स्मार्ट बुक नर्सरी, एलकेजी र युकेजीमा लागू गर्न भनेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू