नेपाल समूहको मुभ कुर्दै ओली, कारवाहीको लागि बोलाइएको बैठक दोस्रो पटक पनि स्थगित

admin

काठमाडौं, १७ जेठ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक फेरि पनि स्थगित भएको छ। बालुवाटारमा सोमवार बिहानका १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार अब अर्को बैठक मंगलवार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको छ। आइतवारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो। एमालेको माधवकुमार नेपाल समूहमाथि कारवाहिको तयारी भइरहेका बेला बैठक सरेको हो।

ओली निकट नेताहरुका अनुसार लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रिय सभाको उप-निर्वाचनमा नेपाल समूहको मुभलाई हेरेर कारवाहीको तयारी गरिने छ। नेपालसहित ११ नेतालाई ओलीले पार्टीबाट निष्कासन गरेका छन्। थप १२ नेतालाई पनि स्पष्टिकरण सोधिएकोमा पार्टीबाटै निष्कासन गर्ने तयारी भएको हो।

नेपाल समूहले ‌ओलीलाई विश्वासको मत दिएको थिएन भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेर प्रतिनिधि सभा विघटगरेपछि नेपाल सहितका पाँच दलका १४६ सांसदले अदालतमा रिट निवेदन दर्ता गरेका थिए। हाल अदालतमा मुद्दाको सुनुवाइ भइरहेको छ।

ओलीले कारवाहीको तयारी गरेसँगै नेपाल समूहले पनि नयाँ पार्टी दर्ता गर्नेबारेको तयारी तीव्र पारेको छ। नयाँ पार्टी तत्काल बनाउने की नबनाउने भन्नेबारेमा नेपाल समूहमा एक मत नभएपछि हालसम्म नयाँ पार्टी दर्ता भएको छैन।

नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले विज्ञप्ति जारी गर्दै निर्णायक कदमको तयारीमा रहेको बताएका थिए। यद्यपि नेपाल समूहका दोस्रो समूहका नेताहरुले अझै एकताका लागि पहल गरिरहेका छन्।

यसअघि ओली नेपालबीच एक्का एक्लै वार्तापछि जेठ २ गते १० सदस्यीय वार्ता टोली गठन भएको थियो। वार्ता टोलिको दुई पटक बैठक बसेपनि एमालेको विवादका बारेमा निष्कर्शमा पुग्न सकेन। वार्ता टोलीमा रहेका नेताहरुले भने वार्ताको औचित्य नभएको बताउँदै आएका छन्।

प्रतिक्रिया