कांग्रेसले एमाले र जसपालाई विभाजन गराउन प्रधानमन्त्रीमा दाबी गर्‍यो : मन्त्री ढकाल

admin

काठमाडौं, १७ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन् । दलीय व्यवस्थामा अरू दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरू पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोपसमेत लगाए ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरिएको बताएका हुन् ।

उनले भने, ‘आउँदो चुनावमा जसपा र नेकपा एमालेलाई विभाजनमा लानका लागि आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टी विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरू पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरूको घर झगडा गराएर यो खालको काममा लाग्ने कुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरू दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? यो भन्दा गैरलोकतान्त्रिक कुरा अरू केही हुन सक्छ जस्तो मलाई लाग्दैन ।’

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्न नहुने बताए । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरणअनुसारको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए । मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित चुनाव गराउन अगाडि बढ्ने पनि उनले बताए ।

यसै क्रममा मन्त्री ढकालले भने, ‘धारा ७६ (५) को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरूले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् । बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणालीभित्र निर्दलीय आचरण र आकाङ्क्षाअनुसारको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ, त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो ।’

प्रतिक्रिया