अब प्रहरीले जाँच गर्ने फिनल्यान्डकी प्रधानमन्त्रीको ‘बिहान खाजा’को बिल

admin

एजेन्सी, १७ जेठ : फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनको बिहानको खाजा (ब्रेकफास्ट) को बिल अहिले चर्चाको विषय बनेको छ । सबैतिर यही ब्रेकफस्ट बिलको चर्चा भइरहेको छ । केहीले प्रधानमन्त्री सना मरिनमाथी सरकारी पैसा दुरुपयोगको आरोप लगाएका छन् भने केहीले भ्रष्टाचारसँग उनको सम्बन्ध रहेको बताइरहेका छन् । यसै विषयमा त्यहाँको स्थानीय प्रहरीले जाँच गर्ने बताएको छ ।

प्रधानमन्त्री मरिनले सरकारी आवासमा परिवारसँग ब्रेकफास्टमा निकै पैसा खर्च गरेको उनीमाथी आरोप छ । स्थानीय सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई निसाना बनाइएको छ । ‘ट्याबलोइड इलतलेहती’को रिपोर्टमा प्रधानमन्त्री सना मरिनले आफ्नो आधिकारिक निवास केसरन्तामा रहँदै परिवारसँगको नास्ताका लागि हरेक महिना झन्डै तीन सय युरो खर्च गरिरहेको आरोप लगाइएको छ ।

यो प्रतिवेदनपछि विपक्षहरु आक्रामक बनेका छन् । प्रधानमन्त्री सना मरिनले आफूभन्दा पहिलेका प्रधानमन्त्रीले पनि यसको लाभ लिएको बताएकी छिन् । उनले ट्विटरमा भनेकी छिन्, ‘प्रधानमन्त्रीको रुपमा मैले यो लाभ मागेको छैन र यसबारेमा निर्णय लिन पनि सहभागी भएको छैन ।’

कानुनी विशेषज्ञले प्रधानमन्त्रीको बिहानको नास्ताका लागि करदाताको पैसाको उपयोग गर्नु फिनिस कानुनुको उल्लङ्घन हुन सक्ने सुझाव दिएका छन् । शुक्रबार प्रहरीले यस मुद्दा जाँच गर्ने घोषणा गरेको हो । प्रहरीले एक विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्रीको नास्तामा खर्च गरिएको पैसा सरकारबाट लिइएको हो । यद्यपि कानुनले यो इजाजत दिँदैन ।’

प्रतिक्रिया