‘पालिका नै अनुमति माग्दै सिंहदरबार धाउनुपर्ने अवस्थाले सङ्घीयताकै मर्म हराउँदै गयो’

admin

काठमाडौं, १७ जेठ : गाउँपालिका राष्ट्रिय महासङ्घले सबै नागरिकलाई जति सक्दो छिटो कोरोना भाइरसविरुद्धको खोप सुनिश्चितता गर्न आग्रह गरेको छ । महासङ्घले खोप आयातमा सबै प्रकारका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्राथमिक उपचार तथा व्यवस्थापन पालिकाको दायित्व भए पनि जटिल उपचार र खोपको व्यवस्थापन सङ्घ सरकारको जिम्मेवारी रहेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घले विज्ञप्ति निकालेर दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकका लागि गरेको अनलाइन आवेदन ग्रामीण क्षेत्रका लागि अव्यावहारिक भएको भन्दै महासङ्घले समानुपातिक रूपमा खोपको वितरण हुनुपर्नेमा पनि जोड दिएको छ ।

पालिका आफैँले खोप खरिद गर्न अनुमति माग्दै सिंहदरबार धाउनुपर्ने अवस्थाले सङ्घीयताकै मर्म हराउँदै गएको महासङ्घको ठहर छ । जनसङ्ख्याका आधारमा पालिकालाई खोप उपलब्ध गराउन र स्थानीयस्तरमै खोप अभियान चलाउनुपर्ने महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गोरखाको बारपाक जस्तो दुर्गम र घना बस्तीमा समेत कोरोना संक्रमण फैलिएको अवस्थामा दुर्गम क्षेत्रका संक्रमितलाई सुविधायुक्त अस्पतालमा पुर्‍याउन समस्या देखिएकाले बाटोको असुविधा र धेरै समय लाग्ने भएकाले निश्चित मापदण्ड बनाइ हवाई माध्यमबाट उद्दारको व्यवस्था मिलाउन पनि महासङ्घले अनुरोध गरेको छ ।

त्यस्तै बजेटमा व्यवस्था गरे भन्दा बाहिर गएर पालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्नुपर्ने बाध्यता परेको विज्ञप्तिमा भनिएको छ । महासङ्घले महामारीसँग जुध्न तीन तहकै सरकारबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी बाँडफाँड हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया