कांग्रेस कसैको पनि झगडामा परेको छैन, कसैलाई उत्प्रेरित गरेका छैनौँ : नेता रिजाल

admin

काठमाडौं, १७ जेठ : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका थिए ।

मन्त्रीको त्यही प्रतिक्रियाप्रति टिप्पणी गर्दै कांग्रेस नेता रिजालले कांग्रेसको प्रधानमन्त्रीमा दाबी कसैलाई फुटाउनका निम्ति नभएको स्पष्ट पारेका हुन् । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता रिजालले नेकपा एमालेभित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताए ।

सरकारका विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका बीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याइ आफैँ आलोचित हुँदासम्म पनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उहाँले अहिले भने देश र नागरिकको बृहत्तर सार्थ र हितलाई ध्यान दिँदै प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताए ।

उनले भने, ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिका कारण पार्टी फुटको सङ्घारमा पुग्दा पनि हामी संयमित भयौँ । प्रतिनिधि सभा विघटनपछि पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना र टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौँ । यो बिउ हामीले लगाएको होइन । कांग्रेस अरू कसैको पनि झगडामा परेको छैन । हामीले कसैलाई उत्प्रेरित गरेका छैनौँ । दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधि सभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म समर्थन छ भन्दा भन्दै पनि आफैँ चुप लागेर बस्यौँ । बरु त्यसका लागि हामी आलोचित भयौँ । त्यो आलोचना सह्यौँ । अहिले देश र नागरिकको बृहत्तर स्वार्थ र हितका लागि हामीहरूले उहाँहरूसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो । त्यो विकल्प प्रस्तुत गर्‍यौँ ।’

प्रतिक्रिया