काठमाडौं, १८ जेठ : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने-नगर्नेबारे जसपाभित्र पहिलेदेखि नै विवाद बढ्दै आएको थियो । पछिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई ठाकुर पक्षले समर्थन गरेको छ भने यादव पक्ष कांग्रेस-माओवादीको विपक्षी गठबन्धनमा छ ।
यस्तै जसपाको यादव पक्षले पार्टी अध्यक्ष ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । कार्यकारिणी समितिको बैठकलगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाएका हुन् ।
आयोगलाई पठाइएको पत्रमा यादवले दलको दर्ता किताबबाट ठाकुरको नाम हटाउन अनुरोध गरेका छन् । निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ । ठाकुर पक्षले पनि यादव लगायतका नेताहरूमाथि निष्कासनको कारबाही गर्ने तयारी गरेको छ ।