आज नेप्सेसँगै कारोबार रकम घट्यो

admin

काठमाडौं, १८ जेठ : मंगलबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । सोमबार ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से मंगलबार साढे ११ अङ्कले घटेको छ । नेप्से मंगलबार ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा बढी एक सय ७६ अङ्कले घटेको छ ।

त्यस्तै निर्जीवन बीमा समूहको शेयर १२३ अङ्कले, व्यापार समूहको शेयर ९३ अङ्कले र होटल तथा पर्यटनको शेयर ९१ अङ्कभन्दा धेरैले घटेको छ । मंगलबार विकास बैंक समूहको शेयर भने २१ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार रकममा पनि कमी आएको छ । मंगलबार आठ अर्ब ५९ करोड रुपैयाँ बराबरका एक करोड ९७ लाख कित्ता शेयर कारोबार भयो ।

मंगलबार दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य पाँच प्रतिशत, जोशी हाइड्रोपावर र आँखु खोला हाइड्रोको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ । बजार घटेको दिन पनि कालिका पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया