काठमाडौं, १८ जेठ : जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजनको सङ्घारमा पुगेको छ । दुवै पक्षले एक-अर्कोलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका छन् । मंगलबार अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासनको निर्णय गरेलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेलगत्तै ठाकुर पक्षको बैठक बसेर यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ ।
कार्यकारिणी समितिको बैठकलगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाएका हुन् । आयोगलाई पठाइएको पत्रमा यादवले दलको दर्ता किताबबाट महन्थ ठाकुरको नाम हटाउन अनुरोध गरेका छन् । निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।