कोभिड प्रभावित पत्रकारलाई प्रेस काउन्सिलको सहयोग

admin

काठमाडौं, १८ जेेठ : प्रेस काउन्सिल नेपालले कोरोना (कोभिड–१९) भाइरसको दोस्रो लहरको संक्रमणबाट अति प्रभावित ९ जना पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ। प्रेस काउन्सिल, मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गते बसेको बैठकले कोरोना संक्रमण भई भेन्टिलेटर-आइसियूमा उपचाररत ६ जना पत्रकार र कोरोना संक्रमणबाट ज्यान गुमाएका ३ जना पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको हाे।

काउन्सिलले तत्कालका लागि जनही २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो। भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम (जेठ १६ गते निधन भएको) र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसियूमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौँका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिए। भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ।

काउन्सिलले आगामी दिनमा कोरोनाबाट अति प्रभावित र आर्थिक समस्या परेका पत्रकारलाई सहयोग तथा राहत उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार, सहयोगी संघ संस्था र व्यक्तिसँग पहल एवं सहकार्य गर्ने जनाएको छ।

काउन्सिलले अग्रभागमा रहेर खटिने पत्रकारलाई विषम परिस्थितिमा सघाउन सहकार्यका लागि इच्छुक संघ-संस्था र व्यक्तिलाई सहकार्यका लागि आग्रहसमेत गरेको छ। यसअघि कोभिड-१९ को असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृत्ति एवं इन्टरनेट सुविधा सहयोग प्रदान गरिएको थियो।

प्रतिक्रिया