‘कालो ढुसी’ संक्रमणबारे कसरी ध्यान दिने जान्नै पर्ने कुरा !

admin

काठमाडौं, १९ जेठ : कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका केही बिरामीमा कालो ढुसी (म्यूकरमाइकोसिस)को पनि संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा केही व्यक्तिमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि संक्रमण पुष्टि भएकामा गम्भीर र प्राणघातक पनि हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कालो ढुसी भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो जसको संक्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ ।

काठमाडौं तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीका प्रमुख कार्यकारी अधिकृत तथा कोर्निआ विशेषज्ञ डा. रीता गुरुङका अनुसार मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला म्यूकोर्माइकोसिस हुने गर्छ । त्यस्तै, रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यानका अनुसार मधुमेह रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा म्यूकोर्माइकोसिसको समस्या बढी देखिने गर्छ ।

आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा विशेष चनाखो हुनुपर्ने डाक्टरहरुको सुझाव छ । चिकित्सकहरूका अनुसार कालो ढुसीबाट संक्रमितको उपचारमा मुख्यतया ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गर्ने गरिएको छ । नेपालमा त्यो औषधिको प्रयोग कालाजारको उपचारमा हुँदै आएको छ ।

‘कालो ढुसी’ बारे जान्नै पर्ने कुरा

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने गर्छ ।
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुन्निने र आँखा धमिलो देखिने, दाँत दुख्ने लगायतका लक्षण देखिन्छ ।
– ४५ देखि ६५ वर्ष उमेर समूहका मानिस यो रोगको उच्च जोखिममा रहन्छन् ।
– मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू र धेरै खालका एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गरेकाहरू पनि यो रोगको जोखिममा हुन्छन् ।

कसरी ध्यान दिने ?

यो रोगबाट बच्नका लागि घरमा आइसोलेशनमा बस्दा विभिन्न खालका उपाय अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् ।
– सफा र सुख्खा मास्क प्रयोग गर्ने
– डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने
– घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
– धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
– नुनिलो पानीले नाक सफा गर्ने
– जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने

प्रतिक्रिया