पाँच घण्टापछि नियन्त्रणमा आयो चौधरी उद्योग परिसरमा लागेको आगो

admin

नवलपरासी, १९ जेठ : नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार बिहान साढे आठ बजेको समयमा उद्योग परिसरभित्रको सीजी ब्रुअरीमा लागेको आगो झन्डै पाँच घण्टामा पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात वटा दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप कुमार गिरीले बताए ।

सीजी ब्रुअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको डीएसपी गिरीले जानकारी दिए ।

आगलागीबा​ट तयारी अवस्थामा रहेको बियर, अन्य पेय पदार्थ, उत्पादनका लागि राखिएका कच्चा पदार्थ लगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के-कति क्षति भयो भन्ने यकिन विवरण नआइसकेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया