काठमाडौं, २० जेठ : अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको संख्या बढ्ने जनाएको छ । आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ । यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्कले जनाएको छ ।
आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको संख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताए । यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने उनले बताएका छन् । संयुक्त राष्ट्र सङ्घले कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।