कोरोना महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ : पूर्वराजा शाह

admin

काठमाडौं, २० जेठ : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन् । बिहीबार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोरोनाविरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गरेका हुन् ।

उनले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गरेका छन् । अहिले आफू दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिएका छन् । भारतको कुम्भमेलामा गएर आएपछि पूर्वराजा दम्पतीलाई कोरोना संक्रमण भएको थियो । अहिले दुवै जना डिस्चार्ज भइसकेका छन् ।

उनले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘महामारीको प्रक्रिया चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छौँ ।’

यस्तै पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गरेका छन् । उनले उपचारका क्रममा रहेको सबै नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोनाका कारण ज्यान गुमाएका आत्माको चीर शान्तिको कामना पनि गरेका छन् ।

प्रतिक्रिया