कुवेतले कोरोनाविरुद्धको खोप लगाएकालाई आफ्नो देश प्रवेश गर्न दिने

admin

एजेन्सी, २० जेठ : खाडी देश कुवेतले कोरोना विरुद्धको खोप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खोप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका स्थानीय पत्रिकालाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ ।

कुवेतले केही दिन पहिले बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड एस्ट्राजेनिका, जोनसन जोनसन खोपलाई मान्यता दिएको छ । अब यी खोप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिइने जनाइएको हो । कोरोना महामारीको संक्रमण फैलिएसँगै कुवेतले गएको जनवरीदेखि नै आफ्ना नियमित उडानको ८० प्रतिशत उडान घटाएर दैनिक एक हजार यात्रु संख्या तोकेको थियो ।

गैर कुवेतीहरुलाई प्रवेशमा कडाइ गरेको थियो । तर मे २२ देखि भने यात्रुसंख्या बढाएर दैनिक पाँच हजार तोकेको छ । जुनको अन्तिमदेखि कुवेतले आफ्ना सबै उन्तर्राष्ट्रिय उडानहरु बिस्तारै खोल्दै जाने पनि स्थानीय पत्रिकाले लेखेका छन् । कुवेतले मे १० देखि नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने सबै व्यवसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ ।

यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउँदैनन् तर अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको खण्डमा भने कुवेत प्रवेश गर्न सक्छन् । तर अफिसियल, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई भने स्वास्थ्यका मापदण्ड पालना गरेर सजिलै प्रवेश गर्न सक्छन् ।

कोरोना विरुद्धको खोप लगाएको खण्डमा प्रतिबन्ध लगाएका देशबाट आउने यात्रुको प्रवेशलाई पनि अनुमति दिने सक्ने गल्फ न्युजले जनाएको छ । तर यसबारेमा कुनै यकिन निर्णय भने भइसकेको छैन ।

प्रतिक्रिया