स्वास्थ्य मन्त्रालयले भन्यो – नेपालमा नयाँ भेरियन्टको कोरोना फैलिएको छैन

admin

काठमाडौं, २० जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नफैलिएको बताएको छ ।

बेलायती मिडियाले नेपालमा भेटिएको नयाँ भेरियन्टका कारण युरोपमा तीव्र रूपमा कोरोना संक्रमण फैलिएको समाचार सम्प्रेषण गरेपछि मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै नेपालमा नयाँ भेरियन्टको संक्रमण नफैलिएको बताएका हुन् ।

‘पछिल्लो समय नेपालमा फैलिएको कोभिड १९ भेरियन्टलाई डेल्टा नाम दिइएको हो । हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा अल्फा र डेल्टा छन् ।

हालसम्म नेपाल यसबाहेक अरू कुनै भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ । जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अधिकारिक सूचना नलिई समाचार सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया