ग्यास र चिनीसहितका सामग्रीमा २० प्रतिशत छुट (सूचनासहित)

admin

काठमाडौं, २० जेठ : सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरेअनुसार खाना पकाउने ग्यास र चिनीसहितका सामग्री २० प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबीच बिहीबार बसेको बैठकले बजेटमा भएको व्यवस्था कार्यान्वयन थाल्ने निर्णय गरेको हो।

साल्ट ट्रेडिङ कर्पोरेशनले एसटिसी ग्यास ११ सय २० रुपैयाँ, चिनी प्रतिकेजी ६३ रुपैयाँ, नून प्रतिकेजी १६ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १ सय ८८ र पिठो प्रतिकिलो ४४ रुपैयाँमा उपलब्ध गराइने जनाएको छ।

यो दरमा पाँच जनासम्मको परिवारलाई एउटा ग्यास सिलिन्डर, एक लिटर तेल र पिठो, चिनि र नुन २ केजीका दरले उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशनले जारी गरेको सूचनामा उल्लेख छ।

कर्पोरेशनका अनुसार यो छुट निषेधाज्ञा जारी रहेको अवधिसम्म मात्रै लागू हुनेछ। यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि २० प्रतिशत छुटमा चामल र कर्णालीको सिमी उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया