आजदेखि केही खुकुलो गरिएको उपत्यका निषेधाज्ञामा के के खुल्ला रहनेछन् ?

admin

काठमाडौं, २१ जेठ : अहिले खोटाङ र मनाङबाहेक ७५ वटा जिल्लामा निषेधाज्ञा छ । शुक्रबारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो गरिएको छ । एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा गएराति १२ बजेपछि केही खुकुलो बनाउँदै जेठ मसान्तसम्म थपिएको हो । 

काठमाडौं उपत्यकामा गएको बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएकोमा जेठ १४ गतेदेखि आवतजावत र पसल सञ्चालनमा थप कडाइ गरिएको थियो । शुक्रबारदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

यस्तै निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइने छ । गाडी मर्मत गर्ने वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ ।

घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भइ विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक काठमाडौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् ।

औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । यसैबीच बाजुरा, रुपन्देही, झापामा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको बाजुरा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

रुपन्देहीमा खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था गरेर निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । यस्तै झापामा भने हप्तामा दुई दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्न पाउने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । 

प्रतिक्रिया