काठमाडौं, २१ जेठ : नागरिकता अध्यादेशको विरुद्ध परेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । सरकारको सिफारिसमा यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि त्यसको विरोधमा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण बस्नेत लगायतले रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा आफूसहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरेका हुन् । वरिष्ठताकै तहमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमणका कारण उपस्थित हुन नसक्ने भएपछि ईश्वरप्रसाद खतिवडालाई राखिएको हो ।
प्रतिनिधि सभा विघटनको विषयमा गठन गरिएको संवैधानिक इजलासमा विवाद भएपछि अध्यादेशविरुद्धको मुद्दामा भने प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा न्यायाधीश छानेर इजलास गठन गरेका हुन् ।