डब्ल्यूएचओद्वारा नेपाललाई कालो ढुसीको औषधि सहयोग

admin

काठमाडौं, २२ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग पठाएको छ । नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन ‘बी’ नेपालमा पठाएको हो । डब्ल्यूएचओले पठाएको एक हजार भाइल नेपाल आइपुगेको छ ।

नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो । डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोग विरुद्ध पनि प्रयोग हुने भएकाले केही भाइल त्यसका लागि पनि राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सेवा विभागले थप १० हजार भाइल यो औषधिको खरिदका लागि तयारी गरिरहेको छ । पछिल्लो समय भारतमा बढ्दै गएको कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि औषधिको अभाव हुन थालेको छ । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसी पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौंमा भेटिएका छन् । यसअघि कालो ढुसी भारतमा देखिएको थियो । डाक्टरका अनुसार कालो ढुसीले कोभिड-१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो संक्रमण बिरलै देखिने तर संक्रमण गम्भीर भए ज्यान समेत जान सक्ने डा. पौडेलले बताए ।

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने, ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिँगान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखा पर्दछ । यो रोग मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसीको जोखिम हुने उनले बताए ।

कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने जथाभाबी एन्टिबायोटिक औषधि नखाने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि खानु पर्ने डाक्टरको सुझाव छ ।

प्रतिक्रिया