काठमाडौं, २२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गरेका छन् । नेपाललाई खोप अत्यावश्यक भएको भन्दै प्रधानमन्त्री ओलीले बेलायतका समकक्षी बोरिस जोनसनलाई खोप सहयोग गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बीबीसीका दक्षिण एसिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा सहयोग गर्नु बेलायतको दायित्व हुने बताएका छन् । उनले बेलायतका लागि नेपाली गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल प्राथमिकतामा पर्ने बताए ।
ओलीले भने, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु ।’ बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना महामारीमा नेपालसँग काँधमा काँध मिलाएर उभिने र स्वास्थ्य सामग्री तथा स्वास्थ्य विज्ञ पठाउन नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।